दफा ५
बोर्डको काम, कर्तव्य र अधिकार
बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) पूँजी बजारको विकाससँग सम्बन्धित विषयका सम्बन्धमा नेपाल सरकारलाई आवश्यकता अनुसार परामर्श दिने,
(ख) धितोपत्र सार्वजनिक रुपमा निष्काशन गर्न सक्ने गरी स्थापना भएको संगठित संस्थाको धितोपत्र दर्ता गर्ने,
(ग) दर्ता भएको धितोपत्रको निष्काशन, हस्तान्तरण, बिक्री र विनिमयलाई नियमित तथा व्यवस्थित गर्ने,
(घ) धितोपत्र बजार सञ्चालन गर्न चाहने संगठित संस्थालाई यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियमका अधीनमा रही धितोपत्र बजार सञ्चालन गर्न अनुमति दिने,
(ङ) धितोपत्र बजारको काम कारबाहीको नियमन तथा अनुगमन गर्ने,
(च) धितोपत्र बजारले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम तथा विनियम बमोजिम काम कारबाही गरे नगरेको हेर्ने र नगरेको पाइएमा धितोपत्र बजारको अनुमतिपत्र निलम्बन वा खारेज गर्ने,
(छ) धितोपत्र व्यवसाय सञ्चालन गर्न चाहने कम्पनी वा संस्थालाई यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम तथा विनियमका अधीनमा रही धितोपत्र व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र दिने,
(ज) धितोपत्र व्यवसायीको काम कारबाहीको नियमन तथा अनुगमन गर्ने,
(झ) तोकिए बमोजिमको प्रक्रिया पूरा गरी धितोपत्र व्यवसायीको कार्य तथा क्षमता अनुरुप वर्गीकरण गर्ने र स्तर कायम गर्ने,
(ञ) सामूहिक लगानी योजना तथा लगानी कोष कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने तथा सोको नियमन र अनुगमन गर्ने,
(ट) धितोपत्र बजार तथा धितोपत्र कारोबारमा संलग्न धितोपत्र व्यवसायसँग सम्बन्धित संस्थाहरुको विनियम स्वीकृत गर्ने र पूँजी बजारको विकास तथा धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न धितोपत्र बजार तथा धितोपत्र कारोबारमा संलग्न धितोपत्र व्यवसायसँग सम्बन्धित संस्थाहरुको विनियममा आवश्यकता अनुरुप संशोधन गर्न आदेश दिने,
(ठ) धितोपत्र कारोबार सम्बन्धी हिसाब राफसाफ गर्ने कामलाई व्यवस्थित गर्ने,
(ड) धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम, विनियम तथा निर्देशिकामा तोकिए बमोजिमको आचरण कायम राखेको छ, छैन हेर्ने र त्यस्तो आचरण कायम राखेको नपाइएमा धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र निलम्बन वा खारेज गर्ने,
(ढ) धितोपत्र बजारको प्रवद्र्धन, सम्बद्र्धन र स्वच्छ सञ्चालनका लागि धितोपत्रको परिमाण र कारोबारको तरिकालाई नियमित गर्न आवश्यक व्यवस्था गर्ने, गराउने,
(ण) धितोपत्र लगानीकर्ताको हितको संरक्षण गर्नका लागि परिच्छेद–९ मा उल्लेख भए बमोजिमको धितोपत्रको भित्री कारोबार वा धितोपत्र कारोबार सम्बन्धी अन्य कसूर हुन नदिन आवश्यक व्यवस्था गर्ने,
(त) धितोपत्र निष्काशन गर्ने संगठित संस्था तथा धितोपत्र व्यवसायीले पेश गरेको आर्थिक विवरण पुनरावलोकन गर्ने, गराउने र तत्सम्बन्धमा आवश्यक देखेको निर्देशन सम्बन्धित संगठित संस्थालाई दिने,
(थ) कम्पनीको व्यवस्थापनमा नियन्त्रण हुने गरी एकमुष्ट वा पटक पटक गरी शेयर खरिद गरी स्वामित्वमा लिने कार्यलाई व्यवस्थित र पारदर्शी गराउने,
(द) धितोपत्र वा कम्पनी सम्बन्धी मामिलाका सम्बन्धमा सुपरिवेक्षण तथा नियमन गर्न सम्बन्धित निकायहरुसँग समन्वय गरी सहयोग लिने दिने,
(ध) धितोपत्र तथा पूँजी बजार विकासका सम्बन्धमा आवश्यक अन्य कामहरु गर्ने, गराउने ।